हावाहुरीसहित चार प्रदेशमा वर्षा

 बैशाख २९, २०७८

काठमाडौं । हावाहुरीसहित चार वटा प्रदेशमा आज वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही ठाउँमा बिहानैदेखि वर्षा भइरहेको पनि जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, कर्णाली, गण्डकी र प्रदेश २ का केही भागमा वर्षा भइरहेको जनाएको छ। चारै प्रदेशमा चट्टयाङ, हुरीबताससहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम, बाग्मती र प्रदेश १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली अहिले दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावले वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल लुम्बिनी, कर्णाली, गण्डकी तथा प्रदेश २ का केही भू-भागहरुमा वर्षा भैरहेको छ। उक्त मेघ गर्जन/चट्टयाङ/ हुरी वतास सहित वर्षा गराउने मौसमी प्रणाली पूर्वतर्फ सर्दै जाने क्रममा बागमती तथा प्रदेश १ मा पनि यसको प्रभाव पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउनहुन अनुरोध छ ।

तपाईंको प्रतिक्रिया