संचार माध्यम र संचारकर्मीको अवस्थाका बारेमा अध्ययन गरिने

दाङ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा रहेका संचार माध्यम र संचारकर्मीको अवस्थाका बारेमा अध्ययन गर्ने भएको छ । महासंघ दाङको आज बसेको नियमीत बैठकले यस्तो निर्णय गरेको हो । महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले हालसम्म भएका गतिविधिको समिक्षा पनि गरेको छ । जिल्लामा कोरोना संक्रमणका कारण प्रभावित भएका पत्रकारहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गरिएको, केही स्वास्थ्य सामग्री प्रदान गरिएको र आइसोलेशन संचालनका लागि तयारी गरिएको बारे समिक्षा गरिएको थियो ।
यसैगरी महासंघले संक्रमीत पत्रकारहरुको उपचारमा सहजिकरण गरेको र आगामी दिनमा पनि यी कार्यहरुलाई निरन्तरता दिदै अगाडी बढ्ने निर्णय समृत गरेको छ । कोरोना महामारीको समयमा जिल्लामा रहेका सञ्चारमाध्यमहरुको अवस्थाको बारेमा अध्ययन गर्न उपाध्यक्ष सन्तोष सुवेदी संयोजक, सहसचिव दशरथ घिमिरे र कोषाध्यक्ष शरद रेग्मी सदस्य रहेको अध्ययन समिति समेत गठन गरिएको छ ।
यसैविच सोहि अवसरमा महासंघ दाङ शाखाका सदस्यहरु विपुल पोख्रेल केन्द्रिय अध्यक्षमा, उदय जिएम केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको र शरद अधिकारी प्रेस काउन्सील नेपालको सदस्यमा मनोनित हुनुभएकोमा बधाई ज्ञापन गरिएको थियो ।
यस्तै, नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य बबई गाँउपालिका ४ हापुरेका लक्ष्मण बस्नेतको यही जेठ ३ गते र उहाँको वुवा टोपबहादुर बस्नेतको जेठ २ गते कोरोना भाईरस संक्रमणका कारण निधन भएकाले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेको सचिव आरके शितलले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तपाईंको प्रतिक्रिया