चीनले थप १० लाख डोज खोप दिने

 जेठ १३, २०७८

काठमाडाैं ।

सरकारी संयन्त्रबाट भएका प्रयास परिणाममुखी नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी भारत र चीनको शीर्ष तहमा खोप खरिद तथा सहायताका लागि पहल थालेकी छिन् । उनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेकी छिन् भने भारतीय समकक्षी रामनाथ कोबिन्दलाई मंगलबार चिठी पठाएर खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सँगै राखेर राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग पौने घन्टा कुराकानी गरेकी हुन् । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको समन्वयमा भएको संवादका क्रममा राष्ट्रपति सीले कोरोनाविरुद्धको लडाइँमा नेपाललाई सक्दो सहयोग गर्ने भन्दै तत्काल १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले अहिले खोप दिने घोषणा तथा यसअघि खोपलगायतका स्वास्थ्य सामग्री र उपकरणमा गरेको सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएकी छिन् ।

तपाईंको प्रतिक्रिया