रामोसले रियल मड्रिड छाड्दै

 असार ०३, २०७८

रियल मड्रिडका कप्तान सर्जिओ रामोसले क्लब छाड्ने पक्का भएको छ । रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै उनले क्बल छाड्ने जानकारी दिएको हो । उनको औपचारिक बिदाइ बिहीबार हुनेछ । स्पेनिस जायन्ट रियलमा रामोसले १६ वर्ष बिताइसकेका छन् ।

उनी सेभियाबाट सन्‌ २००५ मा रियल मड्रिड गएका थिए । त्यसयता उनी निरन्तर रियल मड्रिडको महत्वपूर्ण सदस्य रहेका थिए । रामोस र मड्रिडबीचको सम्झौता जुन अन्त्यमा सकिँदैछ । नयाँ सम्झौताका लागि लामो समयदेखि छलफल भएपनि क्लबले माग बमोजिम सम्झौता गर्न आलटाल गरेपछि उनले रियल छाड्ने निर्णय लिएको स्पेनिस सञ्चारमाध्यमहरूले जनाएका छन् ।

क्लबले एक छोटो वक्तव्य जारी गर्दै ३५ वर्षीय रामोसलाई क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजकोपनि उपस्थितिमा बिहिबार बिदाइ गरिने जनाएको छ । रामोसले रियल मड्रिडमा रहँदा १६ सिजनमा कुल ६७१ खेल खेल्दै १०१ गोल गरेका छन् ।

तपाईंको प्रतिक्रिया