कर्तव्य ज्यान र बहुविवाह मुद्धामा फरार अभियुक्त पक्राउ

 असार १६, २०७८

तुलसीपुर ।

दाङमा प्रहरीले विभिन्न मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । अदालतबाट कर्तव्य ज्यान मुद्धा र बहुविवाह मुद्धामा दोषी ठहर भई फरार भएका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धाका फरार घोराही ३ लक्ष्मीपुर बस्ने ३८ बर्षिय राजेन्द्र चौधरीलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनी विरुद्ध सर्वोच्च अदालतले २०७३ असार २८ गते दोषी ठहर गदै दश वर्ष कैद सजायको फैसला गरेको थियो ।

प्रहरीले अभियुक्त चौधरीलाई कैद सजायका लागी अदालत उपस्थित गराएको बताएको छ । यस्तैगरी वहुविवाह मुद्धाका फरार अभियुक्त घोराही ३ कुरईरेपानीका ३० बर्षिय विक्रम खड्कालाई पनि प्रहरीले मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

उनी विरुद्ध तत्कालिन पुनरावेदन अदालतले २०७० जेठ ८ गते वहुविवाह मुद्धामा दोषी ठहर गदै एक वर्ष चार महिना कैद सजाय सुनाएको थियो । खड्कालाई प्रहरीले घोराही १७ चौघेरा माईतीघरबाट पक्राउ गरेको हो । उनलाई सजाय भुक्तानका लागी अदालत बुझाईएको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया