कप्तान विश्वासको पेनाल्टी गोलमा हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

 पुष १९, २०७८

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको सातौ चरणकौ अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पालाई जिताउन कप्तान विश्वास श्रेष्ठले पेनाल्टीमा निर्णायक गोल गरे । सातदोबाटोले पनि खेलको अन्तिम समयमा पेनाल्टी पाएपनि गोल गर्न सकेन ।

देलको ४२ औं मिनेटमा सातदोबाटोका डिफेण्डर पिटर सेगुनले त्रिदेव गुरुङलाई फाउल गरेपछि हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो । त्यसैमा कप्तान विश्वास श्रेष्ठले पेनाल्टीमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए ।

दोस्रो हाफमा सातदोबाटोले बराबरी गोल फर्काउने अवसर पाएपनि फिनिङ हुन सकेन । हिमालयन शेर्पाले ईन्जुरी टाईममा अग्रता दोब्बर पार्ने अवसर गुमायो । पिस्टोन मुटुम्बाले गोलकिपरसंग वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

सातदोबाटोले ईन्जुरी टाइमको सातैँ मिनेटमा गोल फर्काउने सुनौलो अवसर गुमायो। हिमालयन शेर्पाका अमृत श्रेष्ठले सातदोबाटोका मार्टिन नांगालाई फाउल गरेपछि पेनाल्टी पाएको थियो तर मार्टिन नाङ्गाको प्रहार हिमालयनका गोलकिपर दिप कार्कीले बचाए ।

जारी लिगमा कमजोर सुरुवात गरेपनि हिमालयन शेर्पाले पछिल्ला तीन खेलमा लगातार जित हात पारेको छ । ७ खेलबाट ११ अंक जोडेको शेर्पा अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ । त्रिभुवन आर्मी एफसी समान अंक जोडेपनि शेर्पा गोल अन्तरमा पछि छ ।

पहिलाे पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोको भने यो तेस्रो हार हो। लिगमा उत्कृष्ट सुरुवात गर्दै ३ खेलबाटै ७ अंक जोडेको सातदोबाटोले पछिल्ला चार खेलमा जम्मा १ अंक मात्रै जोडेको छ । ७ खेलबाट ८ अंक रहेको सातदोबाटो आठौं स्थानमा झरेको छ ।

तपाईंको प्रतिक्रिया