मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालकाे जित

 माघ १८, २०७८

तुलसीपुर । नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण अफ्रिकी देश मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकालेको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको १०औँ मिनेटमा गोल गरेका थिए ।

१३औं मिनेटमा मोरिससका कप्तान एन्डी सोफी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार नेपालका कप्तान समेत रहेका गोलकिपर किरण चेम्जोङले बचाएका थिए । तनावपूर्ण खेलमा नेपाल १० र मोरिसस ९ खेलाडीमा समेटिएका थिए । खेलको ७०औं मिनेटमा नेपाल र मोरिसस १० खेलाडीमा समेटिएका थिए । झगडामा उत्रिएपछि नेपालका पुजन उपरकोटी र मोरिससका एड्रियन बोटलरलाई रातो कार्ड दिएर रेफ्रीले मैदानबाहिर पठाएका थिए ।

७८औं मिनेटमा मोरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फल गरेपछि मोरिससका इम्यानुएलले रातो कार्ड खाँदै मैदान बाहिर गएका थिए ।

यसअघि पहिलो खेलमा पनि मोरिसस १-० गोल अन्तरले पराजित भएको छ ।

तपाईंको प्रतिक्रिया