आईसीसी टी-२० विश्व कप क्रिकेट आजदेखि ओमानमा सुरु

 फागुन ०६, २०७८

काठमाण्डाै । आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ ।खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् ।

दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । आज जिते सेमिफाइनल खेल्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ ।आजको खेल हारेमा बाँकी दुई खेल जित्नै पर्ने दबाब हुनेछ । ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो । तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । ग्लोबल छनोटबाट फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन् ।

नेपालले टी–२० वरीयताको आधारमा सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपाल टी–२० वरीयतामा १३ औँ स्थानमा छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायके र कप्तान सन्दीप लामिछानेले पुनः नेपाल विश्व कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् । नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया