फिलिपिन्समाथि नेपालको फराकिलो जित

 फागुन ०७, २०७८

तुलसीपुर । ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायो । नेपालको टि२० आईमा रनको आधारमा यो तेस्रो ठूलो जित हो । टि२० आईमा गत वर्ष त्रिकोणात्मक टि२० आईको फाइनलमा घरेलु मैदान टियुमा नेपालले नेदरल्यान्डलाई १ सय ४२ रनले हराएको थियो । जुन नेपालको सर्वाधिक ठूलो जित हो ।

नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल समूह विजेता रुपमा सेमिफाइनल खेल्नेछ । पराजित हुँदा पनि नेटरनरेटको आधारमा सेमिफाइनल खेल्ने सम्भावना उच्च छ ।

समूह ए मा आयरल्यान्ड, युएई, बहरान र जमर्नी छन् । पहिलो दिन आयरल्यान्ड युएईसँग १८ रनले पराजित भयो । समूह ए बाट युएई विजेता र आयरल्यान्ड उपविजेता रुपमा सेमिफाइनल खेल्ने उच्च सम्भावना छ । नेपाल समूह विजेता बनेको खण्डमा आयरल्यान्ड र उपविजेता बनेको खण्डमा युएईसँग सेमिफाइनलमा सामना गर्नुपर्ने समिकरण बन्न सक्छ । फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

तपाईंको प्रतिक्रिया