नेपाल टि-२० विश्वकप छनोटको सेमिफाइनलमा

 फागुन ०९, २०७८

तुलसीपुर । आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपाल समूह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो । ८१ रनको झिनो लक्ष्य पूरा गर्ने क्रममा कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरीले २७ रनको अविजित योगदान गरे ।

नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । कुशल मल्ल डकआउट हुँदा आशिफ शेखले १७ रन बनाएका थिए । ओमानमा जारी खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा नेपाली बलरसामु टिक्न सकेन ।

कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न नसक्दा सिंगो टीम ८० रनमा अलआउट भयो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, अविनाश बोहरा र कमलसिंह ऐरीले २-२ तथा कुशल मल्लले एक विकेट लिए ।

यो जितसँगै नेपाल सेमीफाइनलमा पुगेको छ । सेमी फाइनलमा यूएईसँग प्रतिस्पर्धा हुनेछ । फाइनलमा पुग्ने टोली अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपका लागि छानिने छ ।

तपाईंको प्रतिक्रिया