लुम्बिनी प्रदेश: अस्पताल संचालनकाेे जिम्मा पत्रकारलाई

 फागुन १७, २०७८

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशका ११ जिल्ला अस्पताल र ७ आयुर्वेद अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ । तर नियुक्तिमा विवाद भएपछि ४ आयुर्वेदिकसहित लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा नियुक्ति प्रक्रिया नै रोकिएको छ ।

प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सिफारिसमा राजनीतिक भागबण्डाका आधारमा अध्यक्ष नियुक्त गरिएको हो । राजनीतिक भागबण्डा नमिलेपछि प्रदेशका ठूला दुई अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल दाङमा अध्यक्ष नियुक्त हुन सकेका छैनन् । लुम्बिनीमा नेकपा एकीकृत समाजवादी र दाङमा कांग्रेस, माओवादीको दाबी छ ।
सरकारले अस्पताल संचालनका लागि पत्रकारदेखि राजनीतिक कार्यकर्तालाई प्राथमिकता दिएको छ । जिल्ला अस्पताल गुल्मीमा पत्रकार महासंघ गुल्मीका पूर्वसचिव एवं पत्रकार भरत पाण्डेलाई नियुक्त गरेको छ ।

त्यस्तै रुकुम पूर्वको अस्पतालमा रुकुमकै पत्रकार एवं लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीका प्रेस संयोजक गणेश ओली नियुक्त भएका छन् । अर्घाखाँचीको सन्धिखर्क जिल्ला अस्पतालमा कांग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनाल नियुक्त भएका छन् । त्यस्तै गुल्मीको आयुर्वेद अस्पतालमा कांग्रेसकै कार्यकर्ता धर्म पाण्डेलाई नियुक्त गरिएको छ ।

लुम्बिनी प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङमा तुलसीपुर उपमहानगरपालिका–६ दाङकै विष्णुप्रसाद आचार्य नियुक्त भएका छन् । उनी कांग्रेस निकट हुन् ।

तीन ठूला प्रादेशिक अस्पतालमा ठूला पार्टीले भागबण्डा गर्ने सिफारिस भए पनि अर्का दुई प्रादेशिक अस्पतालको नेतृत्व चयन मन्त्रीपरिषद्‍ बैठकमा पुगेर रोकिएको स्रोतले बतायो ।

१८ अस्पतालका अध्यक्ष नियुक्त गर्ने निर्णय शुक्रबार बसेको मन्त्रीपरिषद्‍ बैठकले गरेको थियो । स्रोतका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँको नाम सिफारिस भएको थियो ।

तर, राप्ती प्रादेशिक अस्पतालमा माओवादीले दाबी गरेको र कांग्रेसले सहमति नदिएपछि दुवै अस्पतालको नेतृत्व चयन रोकिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशका २४ अस्पतालमध्ये १८ अस्पतालको अध्यक्ष नियुक्त भएको र बाँकी दुई प्रादेशिक अस्पताल र ४ आयुर्वेद अस्पतालको नेतृत्व चयन हुने प्रक्रियामै रहेको बताए ।

बुटवल र दाङका दुई ठूलासहित तुलसीपुर, रूपन्देही, अर्घाखाँची र बाँके आयुर्वेद अस्पतालमा नियुक्त हुन बाँकी छ । इकान्तिपुरबाट

तपाईंको प्रतिक्रिया