युरोपकै ठूलो आणविक भट्टीमा रुसको आक्रमण

 फागुन २०, २०७८

काठमाडौँ । रुसले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक भट्टीमा आक्रमण गरेको छ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले जापोरिज्जिया आणविक भट्टीमा रुसले चारैतर्फबाट आक्रमण गरेको उल्लेख गरेका छन् । अहिले उक्त आणविक भट्टीमा आगलागी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यद्यपि आगलागी नियन्त्रणको लागि अग्नि नियन्त्रण टोली उक्त स्थानमा पुग्न सक्ने अवस्था नरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । यस्तोमा रुसले तत्कालै आगलागी नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने युक्रेनका विदेशमन्त्री कुलेबाले बताएका छन्। उनले अग्नि नियन्त्रण टोलीलाई आगलागी नियन्त्रणको लागि जान दिँदै सुरक्षित क्षेत्र कायम राख्न आग्रह गरेका छन् ।

युक्रेनको ठूलो जनसंख्या ऊर्जाको लागि आणविक भट्टीमा निर्भर छन्। रुसले गरेको आक्रमणले आगामी दिनमा युक्रेनमा ऊर्जा संकट उत्पन्न हुन सक्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन्।त्यस्तै आणविक भट्टी वरपर हुने सैन्य गतिविधिले संरचना ध्वस्त हुनुका साथै सैनिकमा पनि त्यसको नकारात्मक असर पर्न सक्ने अधिकारीहरुले चेतावनी दिएका छन्।

तपाईंको प्रतिक्रिया