राष्ट्रियसभाका २० सांसद आजदेखि बिदा हुँदै

 फागुन २०, २०७८

काठमाडौं । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चारवर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चारवर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो ।

आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् । कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनित सांसद रामनारायण विडारी पनि राष्ट्रियसभाबाट बिदा हुनेछन् ।

२०७५ असार ४ मा भएको गोलाप्रथाअनुसार आजबाट रिक्त हुने सांसदले चारवर्षे कार्यकालका चिठ्ठा समाएका थिए ।

तपाईंको प्रतिक्रिया