कोरोनाका कारण काठमाण्डौ उपत्यकामा लगाइएका सबै प्रतिबन्ध हटे

 फागुन २०, २०७८

काठमाण्डाै ।  कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नको लागि काठमाण्डौ उपत्यकामा लगाइएका सबै प्रतिबन्धहरु हटाइएको छ । कोरोनाको तेस्रो महामारी सुरु भएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न प्रतिबन्धहरु लगाएका थिए । प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै लगेका जिल्ला प्रशासन कार्यालयहरुले आजदेखि लागू हुने गरी सबै प्रतिबन्ध हटाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै सूचना निकालेर आजदेखि सबै प्रतिबन्धहरु हटाइएको जानकारी गराएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले यसअघि आम सभा जुलुस भेला र मेलाबाहेकका कार्यमा खुकुलो बनाएका थिए । यस्तै सपिङ मल, डिमार्टमेन्टल स्टोर आदि ठाउँमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्थ्याे । यस्तै डान्सबार, दोहोरी, नाचघर, क्लबजस्ता रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । अब भने कोरोनाका कारण गरिएका सबै प्रतिबन्धहरु पूर्णरुपमा हटाइएको जिल्ला प्रशासन कार्यालयहरुले निकालेको सूचनामा उल्लेख छ ।  

तपाईंको प्रतिक्रिया