माओवादी बैठकमा प्रचण्डको चर्को आलोचना

 फागुन २१, २०७८

काठमाण्डाैं । सत्तारूढ नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसदबाट पारित गर्नमा सहमति दिएपछि अध्यक्ष दाहालको आलोचना भएको हो ।


शुक्रवारदेखि काठमाडौंमा शुरू भएको केन्द्रीय समितिको बैठकमा पार्टीको आठौं महाधिवेशनको निर्णयविपरीत एमसीसी पारित गर्नमा सहमति किन गरेको भन्दै नेताहरूले प्रश्नसमेत उठाएका छन् । ४ जना नेताले लिखित रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गत पुसमा सम्पन्न पार्टीको महाधिवेशनले एमसीसी संशोधन गरेर मात्र पास गर्न सकिने निर्णय गरेको भए पनि पार्टी नेतृत्वले व्याख्यात्मक घोषणाका नाममा जस्ताको तस्तै पास गरेको भन्दै दाहालसँग जवाफ मागेका छन् ।


महाधिवेशनको निर्णयविपरीत जस्ताको त्यस्तै एमसीसी किन पारित गर्नमा सहमति गरिएको बैठकलाई स्पष्ट जवाफ दिनुपर्ने माग उनले गरे । एमसीसी संसद्बाट गत आइतबार पारित गरेपछि नेता श्रेष्ठले सो दिनलाई कालो दिनका रूपमा रहेको टिप्पणी गरेपछि अध्यक्ष दाहालले पार्टी छोडेर गए आफूले नरोक्ने आक्रोश व्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया