दिनदिनै नयाँ कीर्तिमान बनाउँदै सुनको मूल्य

 फागुन २१, २०७८

यो साता सुनको मूल्य प्रतितोला १९०० रुपैयाँ उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ उक्त मूल्यले उकालो लागेको हो ।

यससँगै, हिजो शुक्रबारसम्ममा छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । यस्तै, हिजोको बजार मूल्यअनुसार नेपाली बजारमा तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबारको तुलनामा ३३०० रुपैयाँले बढी हो । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार ९८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन यो साताको आइतबार १४०० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार १६०० ले बढको सुनको मूल्य मंगलबार ६०० ले घटेको थियो । यसैगरी, बुधबार फेरी १९ सय रुपैयाँले बढे पनि बिहीबार ५०० ले घटेर पुनः शुक्रबार ९०० रुपैयाँ बढेको हो ।

यसैगरी, यो साता चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार तोलामा १३ सय ३५ रुपैयाँ कायम चाँदीको मूल्य यो साताको शुक्रबार १३ सय ८० रुपैयाँ पुगेको हो ।

रुसले छिमेकी मुलुकविरुद्ध सैन्य हमला सुरू गरेसँगै विश्व बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्वको सबैभन्दा ठूलो सुन उत्पादक तथा निर्यातक मुलुक रुस छिमेकीसँगको सैन्य भिडन्तमा उल्झेसँगै सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको हो ।

तपाईंको प्रतिक्रिया