तरकारी आयात बढ्यो

 चैत २०, २०७८

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकासिएको छ । आर्थिक वर्ष २०७७/७८ को (फागुन) मसान्तमा रु ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्य बराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेसियाबाट आयात भएको हो ।

झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुकभन्दा आफैँमा लाजमर्दो विषय बन्दै गएको छ ।

सबैभन्दा धेरै आलु भारतबाट रु छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार र बङ्गलादेशबाट रु २४ करोड ८१ लख ५९ हजार गरी कूल रु छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बराबर–भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ ।

सोही अवधिमा रु चार अर्ब ३० करोड ५४ लाख ३९ हजार मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ । भारतबाट ११ करोड ५५ लाख ३२ हजार ६८७ किलो र चीनबाट ७३ हजार ६८० किलो प्याज आयात भएको हो ।

तपाईंको प्रतिक्रिया