गोली लागेर घाइते एक पुरुषकाे उपचारका क्रममा मृत्यु

बर्दिया । बर्दियासित सीमा जोडिएको भारतको मुर्तिहास्थित घना जंगलमा गएका बेला गोली लागेर घाइते एक नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । परिवारका अनुसार निउरो टिप्न उक्त जंगलमा गएका गुलरिया–३ का ५४ वर्षीय हेमराज गोडियालाई गोली लागेको हो ।
गोली लागेर घाइते भएपछि भाग्दै घर नजिक पुगेका थिए । त्यस क्रममा उनी बेहोस भएका थिए । होसमा आएपछि फोन गरी आफन्तलाई बोलाएको उनकी श्रीमती मडेरीले बताइन् । त्यसपछि राति नै उनलाई गुलरिया अस्पताल पुर्याइएको थियो ।
अत्यधिक रगत बगेकाले मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । उनलाई कसले गोली हानेको हो भन्ने अनुसन्धान भइरहेको उनले जनाए । नजिकै कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रूपमा जंगल प्रवेश गरेको भन्दै भारतीय वन रक्षकले गोली हानेको आशंका नेपाली सुरक्षाकर्मीले गरेका छन् । पोस्टमार्टमपछि उनको शव आफन्तले बुझेका छन् ।
तपाईंको प्रतिक्रिया