आधारहीन आरोपको सामना गर्न तयार छु: सन्दीप

 भदौ २४, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका निलम्बित सदस्य सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न हाल वेष्ट इण्डिजमा रहेका लामिछानेले केही समयअगाडि ट्वीट गर्दै आफू निर्दोष भएको जनाएका हुन् ।

उनले लेखेका छन्, ‘म निर्दोष छु र नेपालको सम्मानित कानूनमाथि पूर्ण विश्वास राख्दछु। मैले सीपीएलबाट बिदा लिने र केही दिनमै आफ्नो देश फर्किने निर्णय गरेँ। म आफूमाथिका आधारहीन आरोपको सामना गर्न तयार छु।’

लामिछानेले निर्दोषले न्याय पाउने र सत्यतथ्यमा आधारित अनुसन्धान हुने आस व्यक्त गरेका छन्। यस्तै कानूनले सबैलाई बराबर व्यवहार गर्नेमा पनि आफू आशावादी भएको बताएका छन् ।

लामिछानेमाथि एक १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप छ। प्रहरीले यस घटनामाथि अनुसन्धान थालिसकेको छ भने नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरिसकेको छ ।

भदौ २१ मंगलाबार साँझ पीडित किशोरीले उनीविरुद्ध काठमाडौं उपत्यका प्रहरी कार्यालय, गौशाला वृत्तमा बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि बुधबार दिनभर प्रहरी प्रमाणका लागि जुटेको थियो। बिहीबार अदालतमा प्रमाण पेश गरेसँगै अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको पनि दिइसकेको छ ।

तपाईंको प्रतिक्रिया