दक्षिण अफ्रीकाविरुद्धको टी-ट्वान्टी सिरिज भारतले जित्यो

 असोज १७, २०७९

काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो ।​ गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै क्विन्टन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ खेल्दा एडिन मार्क्रमले ३३ रन बनाए।

भारतका अर्शदिप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ६१ तथा केएल राहुलले ५७ रनको अर्धशतकीय इनिङ खेले । विराट कोहलीले अविजित ४९ रन बनाउदा कप्तान रोहित शर्माले ४३ रन बनाए ।

दक्षिण अफ्रीकाका केशव महाराजले २ विकेट लिए ।

तपाईंको प्रतिक्रिया