दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिज भारतलाई

 असोज २५, २०७९

भारतले दक्षिण अफ्रीकाविरुद्ध जारी तीन खेलको एकदिवसीय सिरिजको उपाधि जितेको छ । तेस्रो तथा निर्णायक खेलमा ६ विकेटको सहज जितका साथ भारत २-१ ले सिरिज जित्न सफल भएको हो ।

अधिकांश मुख्य खेलाडी टि२० विश्वकपका लागि अष्ट्रेलिया पुगिसकेको अवस्थामा भारतले दोस्रो टोलीलाई विश्वकप सुपर लिग अन्तर्गतको सिरिज खेल्न पठाएको थियो । पहिलो खेलमा दक्षिण अफ्रीकाले ९ रनको जित हासिल गरेको थियो । दोस्रो खेलमा भारतले ७ विकेटको जित दर्ता गरेपछि सिरिज अन्तिम खेलमा निर्णय भएको हो ।

मंगलबार दिल्लीमा भएको खेलमा दक्षिण अफ्रीकाले कमजोर प्रदर्शन गर्दै मात्र ९९ रनमा अलआउट भएको थियो । पहिलो ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले २७.१ ओभरमा सबै विकेट गुमायो । टोलीका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन जोडे । जानेमान मालन १५ र मार्को जान्सनले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

भारतका लागि कुलदीप यादवले ४.१ ओभरमा १८ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । सहबाज अहमद, मोहमद सिराज र वासिंगटन सुन्दरले २-२ विकेट हात पारे ।

जवाफमा भारतले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । कप्तान शिखर धवन ८ र इशान किशन १० रनमा आउट भए । ओपनर शुभ्मन गीलले ५७ बलमा ८ चौकासहित ४९ रनको योगदान दिए । श्रेयस ऐर २८ र संजु सामसन २ रनमा नटआउट रहे ।

तपाईंको प्रतिक्रिया