नेइमारसहित ब्राजिलका ३ खेलाडीले क्यामरुनसँगको खेल गुमाउने

 मङि्सर १४, २०७९

काठमाडौं । ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले कतारमा जारी विश्वकपमा समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् ।ब्राजिलले शुक्रबार राति समूह चरणको आफ्नो अन्तिम खेल क्यामरुनसँग खेल्ने छ । यो विश्वकपको आफ्नो पहिलो खेल सर्वियासँग खेल्ने क्रममा नेइमारलाई चोट लागेको थियो । फरवार्ड नेइमारले दाहिने एङ्कलमा लागेको चोटका स्वीट्जरल्याण्डसँगको खेल पनि गुमाएका थिए ।

ब्राजिलियन टिमका डाक्टर रोड्रिगो ल्यासमरले शुक्रबारसम्म नेइमारको चोट निको नहुने र उनले क्यामरुनसँगको खेल पनि खेल्न नसक्ने बताए । चोटकै कारण नेइमारले स्वीट्जरल्याण्डसँगको खेल होटलमै बसेर हेरेका थिए । नेइमारलाई सोमबार ज्वरो पनि आएको र अहिले भने ज्वरो निको भइसकेको जानकारी दिए । नेइमारसँगै ब्राजिलका डिफेन्डर डेनिलो र एलेक्स सेड्रोले पनि क्यामरुनसँगको खेल गुमाउने भएका छन् । डेनिलोलाई पनि एङ्कलमा चोट लागेको छ ।

अर्का डिफेन्डर एलेक्स सेड्रो मांशपेशी बाउँडिए पछि सोमबारको खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए । सोमबार ब्राजिलले स्वीट्जरल्याण्डलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । क्यारुनसँग बराबरीमात्रै खेले पनि ब्राजिल समूह विजेता बन्नेछ ।

तपाईंको प्रतिक्रिया