विशाल लक्ष्य पछ्याउँदै नेपालले नामिबियालाई हरायो

 फागुन ०२, २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हरायो । नामिबियाले दिएको दुई सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

नेपालको यो जितमा थुप्रै कीर्तिमानहरू पनि बनेका छन्। नेपालले एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो स्कोर पछ्याएर हात पारेको यो पहिलो जित हो। यही खेलमा कप्तान रोहित पौडेलले एकदिवसीय खेलमा १,००० रन पूरा गरेका छन्।

यही खेलमा कुशल भुर्तेलले एकदिवसीय क्रिकेटमा पहिलो पटक शतक प्रहार गरे भने करण केसीले यही खेलमा पाँच विकेट हात पारे।

त्यसैगरी भुर्तेल र कप्तान पौडेलले ओडीआईमा नेपालको तर्फबाट सबैभन्दा बढी १३३ रनको साझेदारी गरे। तेस्रो विकेटका लागि यो जोडीले त्यस्तो कीर्तिमान बनाउने साझेदारी गरेका हुन्।

कीर्तिपुर क्रिकेट मैदानमा मङ्गलवार नेपाललाई जिताउन ओपनर कुशल भुर्तेलको ११५ रन बनाए। नेपालको जितमा कप्तान रोहित पौडेलले बनाएको अर्धशतक पनि महत्त्वपूर्ण रह्यो।

यसअघि माइकल भान लिगेनले सानदार शतक प्रहार गर्दै नामिबियाले घरेलु टोली नेपालविरुद्ध २८५ रनको विशाल स्कोर बनाएको थियो।

टस हारेर ब्याटिङ पाएको नामिबियाका लागि भान लिगेनले १३३ रन बनाएका थिए। पूरै ५० ओभर खेल्दै उसले सबै विकेट गुमाएको थियो।

बलिङतर्फ नेपालका लागि करण केसीले पाँच विकेट तथा राष्ट्रिय टोलीमा फर्किएका सन्दीप लामिछानेले तीन विकेट लिएका थिए।

तपाईंको प्रतिक्रिया