नेपाललाई चौथो सफलता,पिएनजीले १०० रन पुर्‍यायो

 फागुन १९, २०७९

युएईमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पपुवान्युगिनीको चौथो विकेट लिएको छ।

नेपालका लागि कुशल मल्लले ११ रन बनाएर खेलिरहेका कप्तान आसाद भालालाई एलबिडब्लुको धरापमा पारे।

भालाले १९ बलमा १ चौकासहित ११ रन बनाएका थिए।

त्यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिएका थिए। एक विकेट रन आउटबाट आएको थियो।

पावरप्लेसम्म उत्कृष्ट सुरूआत गरेको पिएनजीले पावरप्लेमा बिना कुनै विकेट क्षति ४२ रन बनाएको थियो। तर पावर प्ले लगत्तै सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाए।

उनले ओपनर किप्लिन डोरिगालाई बोल्ड गर्दै पिएनजीको साझेदारी तोडेका थिए।

डोरिगाले ४३ बल खेलेर तीन चौकासहित २६ रन बनाएर आउट भए।

त्यसपछि रनआउटमार्फत नेपालले दोस्रो सफलता हात पार्‍यो। १८.३ ओभरमा कुशल मल्लको बलमा विकेटकिपर आसिफ शेखले सेसे बाउलाई रनआउट गराए। बाउले २४ बल खेलेर १ चौका प्रहार गर्दै ११ रन जोडे।

त्यसपछि सोमपाल कामीले २२ औं ओभरको पाँचौ बलमा अर्का ओपनर टोनी उरालाई आउट बनाए। ५१ बल खेलेका उनले १ छक्का र २ चौकासहित ३९ रन बनाएका थिए।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पिएनजीविरूद्ध नेपालले टोलीमा एक परिवर्तन गरेको छ। तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिइएको छ।

नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ। शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले ६ मध्ये ४ जित आवश्यक हुन्।

बिहीबार घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको नेपालले युएईमै पहिलो खेलमा पिएनजीलाई हराएको थियो।

नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ। पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ।

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ।

यस्तो छ नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की,, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख ।

तपाईंको प्रतिक्रिया