ओडिआईमा उच्च योगफल खडा गरेको नेपाल ५२ रनले विजयी

 फागुन २५, २०७९

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको छ। टीयू क्रिकेट मैदानमा सानदार कमब्याक गर्दै नेपालले लिग-२ को निर्णायक सिरिजमा विजयी सुरुवात गरेको हो। यो जितसँगै अब नेपाललाई ओडीआई मान्यता कायमै राख्न बाँकी तीन खेलमा एक जित नै पर्याप्त हुनेछ।

खेलमा नेपालले दिएको २९८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पीएनजी नेपालको कसिलो बलिङ सामु ४८ औं ओभरमा मात्र २४५ रनमा अल आउट भयो। पीएनजी खेलमा राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको थियो। जसका लागि ओपनर टोनी उराले ५० र किप्लिन डोरिगाले २६ रनको योगदान दिएका थिए।

तर यसपछि नेपाली बलरहरू लगातार रुपमा पीएनजीको विकेट झार्न सफल भए। ७७ रनमा पहिलो विकेट गुमाएको पीएनजीले ३५ ओभरको खेल सक्किँदासम्म मात्र १५७ रनमा ७ विकेट गुमाइसकेको थियो।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा मात्र ३७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। त्यसैगरि दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले एक विकेट लिएका थिए।

पीएनजीका लागि नोरमान भानुवाले सर्वाधिक ६० रनको योगदान दिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो।

नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल हो।

नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो। नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा २ सय ८७ रन बनाएको थियो।

नेपालले ओडिआईमा यसअघि पहिला ब्याटिङ गर्दा टीयू मैदानमै गत वर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा २ सय ७८ रन बनाएको थियो।

तपाईंको प्रतिक्रिया