लुम्बिनी प्रदेशले क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने

 चैत ०६, २०७९

बुटवल । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कार्यालय दाङमा सोमबार बसेको मन्त्रिपरिषदको वैठकले ६ जना सिनियर खेलाडीलाई एक लाखका दरले र ५ जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरिजमा नेपाली सिनियर टोली विजेता बन्दै विश्वकपको क्वालिफायरमा छनोट भएकाले प्रदेशका खेलाडीको हौसला र सम्मानका लागि नगद सहित सम्मान गरिने भएको हाे ।

सिनियर क्रिकेट टिममा कप्तान रोहित पौडेल नवलपरासी, कुशल मल्ल,कुशल भुर्तेल र मौसम ढकाल रुपन्देही,सोमपाल कामी गुल्मी र प्रतिश जीसी प्युठानका हुन् ।

यस्तै जुनियर टिममा रुपन्देहीका देव खनाल, कपिलवस्तुका आकाश त्रिपाठी र दुर्गेश गुप्ता,बर्दियाका विकास केसी र अर्घाखांचीका उत्तम थापा रहेका छन् ।

तपाईंको प्रतिक्रिया