आइपिएलमा मुम्बईमाथि बेंगलोरको सानदार जित
कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ४९ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा अविजित रहे । फाफ डु प्लेसिस ४३ बलमा ५ चौका र ६ छक्कासहित ७३ रनमा आउट भए ।
पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले १४.५ ओभरमा १ सय ४८ रनको सानदार शतकीय साझेदारीका साथ जितको आधार तय गरेका थिए । मुम्बईका क्यारन ग्रीन र अर्शद खानले एक एक विकेट लिए ।
त्यसअघि चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।
उक्त योगफल जितको लागि पर्याप्त हुने सकेन । मुम्बईका बायाँ हाते अलराउन्डर तिलक बर्मा ४६ बलमा ९ चौका र ४ छक्कासहित ८४ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । एक समय १०५-६ को दयनीय अवस्थामा पुगेको मुम्बईलाई तिलकले सानदार प्रदर्शनका साथ खेलमा आशा कायमै राखेका थिए ।
बेंगलोरका कर्ण शर्माले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज, रिस टोप्ली, आकाश दीप, हर्षल पटेल र माइकल ब्रेसवेलले एक एक विकेट लिए । बेंगलोरले बिहीबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । मुम्बईले शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।




तपाईंको प्रतिक्रिया