पाँचौं पटक उपाधि जिताएका धोनीले अर्को आईपीएल पनि खेल्ने

 जेठ १६, २०८०

काठमाडौं । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सले पाँचौं पटक आईपीएलको उपाधि जितेको छ । गएराति अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो ।

वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । पाँचौं पटक आईपीएल विजेता चेन्नईका कप्तान धोनीले आईपीएलबाट सन्यास नलिने बताएका छन् । आईपीएलबाट सन्यास लिने विषयमा सोधिएको प्रश्नमा उनले सन्यासको घोषणा गर्ने उपयुक्त समय भएपनि तत्काल सन्यास नलिने बताए । उनले अर्को सिजनको आईपीएल पनि खेल्न सकिने जनाए ।

‘यो सन्यासको घोषणा गर्ने सबैभन्दा राम्रो समय हो । सबैलाई धन्यवाद दिएर सन्यास लिन मलाई सजिलो छ । जहाँ आठ महिनासम्म कडा मेहनत गरेर आईपीएलको अर्को सिजन खेल्नु गाह्रो काम हो । शरीरलाई बलियो राख्नुपर्छ । तर चेन्नईका फ्यानहरूबाट मैले जति माया पाएको छु, त्यो उनीहरूका लागि अर्को सिजन खेल्न पाउनु उपहार हुनेछ ।’ ४१ वर्षीय धोनीले भनेका छन् ।

तपाईंको प्रतिक्रिया