तुलसीपुरकाे बजेट १ अर्ब ७९ करोड ४५ लाख

 असार १०, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को कूल बजेट एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार आएको छ । पालिकाले गतवर्ष एक अर्ब ८६ करोड ४७ लाखको बजेट ल्याएको थियो । यो आर्थिक वर्षको बजेट गत वर्षभन्दा सात करोड १३ लाख कम आएको हो ।

पालिकाको बजेट आन्तरिक स्रोततर्फ ३६ करोड १५ लाख रहेको छ गतवर्ष भने ३० करोड १२ लाख रहेको थियो । आन्तरिकतर्फ गत वर्षभन्दा करिब ६ करोड तीन लाख बढी रहेको छ ।

गत वर्षको बजेटमा संघीय समानीकरण अनुदानतर्फ ३३ करोड ६२ लाख रहेको थियो भने यो आर्थिक वर्षमा २९ करोड आठ लाख रहेको छ । गत वर्षभन्दा चार करोड कम रहेको छ । उपप्रमुखको अनुपस्थितमा नगरका प्रवक्ता माधव वलीले आज कार्यक्रमबीच बजेट प्रस्तुत गर्नुभयो । बजेटमा संघीय शसर्ततर्फ ६५ करोड, विशेष अनुदान एक करोड, राजश्व बाँडफाँटतर्फ २३ करोड रुपियाँ रहेको छ ।

बजेटमा तुलसीपुर उपमहानगरपालिकाका गौरवका आयोजनाका लागि पाँच करोड विनियोजन गरिएको छ । त्यस्तै, पालिकाको आफ्नै अस्पतालबाट दिइने सेवा सुविधा बिस्तारका लागि समेत बजेट विनियोजन गरेको छ । वडा नम्बर १, ३, ४ र १९ मा वायु उर्जा उत्पादन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको छ ।

तपाईंको प्रतिक्रिया