एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधी नेपाललाई

 असार १९, २०८०

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो । नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ‌ओभरमा मात्र ३१ रन बनाएर आउट भयो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर स्कोरमा रन नै बनाउन सकेनन् । मलेसयाका ५ जना ब्याटरले खाता खेल्न सकेनन् ।

नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए ।

नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन अतिरिक्त पायो । मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक/एक विकेट लिए ।

तपाईंको प्रतिक्रिया