एकैदिन साढे ४१ अर्बभन्दा बढी भुक्तानी

 असार २५, २०८०

काठमाडौ । सरकारले चालू आर्थिक वर्षको सरकारी भुक्तानी रोकिने अन्तिम दिन हिजो (आइतबार) अत्यधिक भुक्तानी गरेको छ । हिजोमात्र ४१ अर्ब ६८ करोड ३९ लाख रूपैयाँ भुक्तानी गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष अन्त्य हुनुभन्दा कम्तीमा एक साताअघिसम्म मात्र खर्च गर्ने व्यवस्था गरेको छ । सोही अनुसार आइतबार राति १२ बजेबाटै चालू आर्थिक वर्षको सबै खाले सरकारी भुक्तानी रोकिएको छ । असार मसान्त सकिन अब ७ दिनमात्र बाँकी छ ।

आइतबार सरकारले पूँजीगत भुक्तानीमात्रै करिब २० अर्ब रूपैयाँ गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबार १९ अर्ब ९९ करोड ९८ लाख रूपैयाँ पूँजीगत भुक्तानी भएको हो । यो सँगै पूँजीगत खर्च २ खर्ब १० अर्ब रूपैयाँ नाघेको छ । आइतबार पूँजीगत शीर्षकको भुक्तानीमा अधिकांश निर्माण व्यवसायीको भुक्तानी छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले केही भुक्तानी गरेपनि अझै ५० अर्बभन्दा बढी बाँकी रहेको बताए ।

तपाईंको प्रतिक्रिया