पश्चिमी अफ्रिकामा प्रवासी चढेको डुङ्गा पल्टियो

 साउन ३२, २०८०

पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीको डुङ्गा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ । उक्त डुङ्गामा करिब १०० जना सवार थिए, जसमध्ये अधिकांश सेनेगल र सियरा लियोनका थिए र एक महिनादेखि समुद्र यात्रा गरिरहेका थिए ।

यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुलेको छैन । पुलिसले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार जहाज पहिलो पटक सोमबार देखिएको थियो । प्रारम्भिक रिपोर्टमार्फत डुङ्गा डुबेको जानकारी प्राप्त भयो । प्रहरीका अनुसार काठको डुङ्गा साल टापुबाट लगभग ३२० किलोमिटर (२०० माइल) पर देखिएको थियो । त्यसपछि अधिकारीहरूलाई सतर्क गरिएको थियो ।

सेनेगलको विदेश मन्त्रालयले मङ्गलवार ढिलो जारी गरेको विज्ञप्तिमा उक्त डुङ्गा १०१ जना यात्रु लिएर सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको जनाएको छ । मन्त्रालयले केप भर्डेका अधिकारीहरूसँग बाँचेकाहरूलाई फिर्ता गराउनका लागि सम्पर्कमा रहेको बताएको छ ।

तपाईंको प्रतिक्रिया