साउनमा लक्ष्यअनुसार उठेन राजस्व

 भदौ ०५, २०८०

काठमाडौँ  । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पनि आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन ।

साउनमा १६ अर्ब नौ करोड १३ लाख ५६ हजार बराबर आयकर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार बराबर मात्रै सङ्कलन भएको छ । आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२ दशमलव ४३ प्रतिशत बराबर हो । मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१ दशमलव ९७ प्रतिशत मात्रै उठेको छ । साउन महिनामा १४ अर्ब २४ लाख ७२ हजार बराबर भ्याट सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार बराबर मात्रै उठेको देखिएको हो ।

अन्तःशुल्कतर्फ १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार बराबर उठाउने लक्ष्य राखिएकोमा ७ अर्ब ७० करोड ९५ लाख ८९ हजार बराबर उठेको छ । जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो ।

तपाईंको प्रतिक्रिया