भारतले दियो पाकिस्तानलाई २६७ रनकाे लक्ष्य

 भदौ १६, २०८०

तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको उत्कृष्ट बलिङमा भारतले एसिया कपमा पाकिस्तानलाई २ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भयो ।

भारतका उपकप्तान हार्दिक पान्ड्याले ९० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए । युवा विकेटकिपर ईशान किशनले ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनको महत्वपूर्ण इनिङ खेले ।

एक समय १४.१ ओभरमा ६६–४ को दयनीय अवस्थामा पुगेको भारतलाई ईशान किशन र हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि १ सय ३८ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

भारतका प्रमुख चार ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मालाई ११ रनमा बोल्ड आउट गरे । प्रमुख ब्याटर विराट कोहली अफ्रिदीको सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । कोहली ब्याटरमा एज लाग्दै बोल्ड हुन पुगे ।

हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । चोटबाट फर्किएका ऐर रौफको दशौं ओभरको पाँचौं बलमा मिड विकेटमा समातिन पुगेका थिए । हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तपाईंको प्रतिक्रिया