राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने

 भदौ २३, २०८०

तुलसीपुर । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो ।

यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिदका लागि प्रस्ताव गर्न सक्नेछन्।

विकास ऋणपत्र २०८६ ‘झ’को बोलकबोलका लागि भदौ २४ गते अपराह्न ३ बजेसम्मको अवधि तोकिएको छ भने भदौ २५ गते सोमबार निष्कासन हुनेछ। यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुनेछ। ब्याजको भुक्तानी अर्धवार्षिकरूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैंकले जनाएको छ।

तपाईंको प्रतिक्रिया