व्यवसायीको हकहितको निम्ति काम गर्छु: उपाध्यक्ष गहतराज

 असोज २७, २०८०

तुलसीपुर । दाङ जिल्ला उद्योग बाणिज्य संघका नवनिर्वाचित उद्योग उपाध्यक्ष धुव्रराज गहतराजले जिल्लाका व्यवसायीहरुको हकहितको निम्ति काम गर्ने बताउनु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका गहतराजले आफु सधै व्यवसायीहरुको हक र अधिकारका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरले आज तुलसीपुरमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाले सबै प्रति धन्यवाद दिदै व्यवसायी मतदाताहरुको अमुल्य मतको कदर गर्दै व्यवसायीको हरेक समस्या समाधानका लागी पहल गर्ने बताउनु भयो ।

सो अवसरमा बोल्ने अन्य बक्ताहरुले जिल्लामै पहिलो पटक उद्योग बाणिज्य संघको गरिमामय पदमा निर्वाचित भएकोमा गहतराज प्रति बधाई ज्ञापन गर्दै सुनचाँदी व्यवसायीहरुको समस्या समाधानका लागी पहल गर्नुपर्ने बताएका थिए । सुनचाँदी व्यवसायीहरुको प्रतिष्ठा बढेकोमा खुशी व्यक्त गर्दै उनीहरुले आफुहरुको समस्या समाधान हुनेमा विश्वस्त भएको बताएका छन् ।

साथै सुनचाँदी व्यवसायीको अन्य उद्योग बाणिज्य संघहरुमा पनि नेतृत्व हुन जरुरी रहेको उनीहरुले बताएका थिए । संघका उपाध्यक्ष ईन्द्रविर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य लोक बहादुर स्र्वणकार, नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सदस्य मदन केसी, नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीका अध्यक्ष विनोद कुमार विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीका महासचिव मान बहादुर सेपाईली,संघका प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्मा, संघका बरिष्ठ सदस्य लिला बहादुर वली (लोकेन्द्र), सदस्य हिरा सुनार लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संघका महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया