प्रदर्शनमा उत्रिएकामाथि बल प्रयोग गर्नु दुःखद: महासचिव पोखरेल

 पुष १३, २०८०

काठमाण्डौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बालकुमारी घटनामा प्रहरीले बल प्रयोग गर्नु दुःखद् भएको बताएका छन् । कोरियाली भाषा परीक्षामा आवेदनसम्बन्धी विषयमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी माथि बल प्रयोगको विधि अवलम्बन गरिनु गलत रहेको उनले बताएका हुन् ।

महासचिव पोखरेलले आन्दोलनकारी राज्य पक्ष दुवैलाई संयमित हुन आग्रह गरे । बिहीबार रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएकाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी ललितपुरमा जलाएका थिए।

आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गर्दा दुईजना युवाको निधन भएको छ। प्रहरीले बल प्रयोग गर्दा उनीहरूको मृत्यु भएको बताइए पनि कारण खुलाइएको छैन । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह छन्। राउतको किष्ट अस्पताल र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मन्त्री सवार गाडीमा आगजनी भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ।

मन्त्रीको गाडी आगजनीको घटनाको छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्य संयोजक, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देल सदस्य रहेको छानबिन समिति गठन गरेको छ।

तपाईंको प्रतिक्रिया