त्रिभुवन विश्वविद्यालयको परीक्षासम्बन्धी सेवा अव अनलाइनबाट

 माघ १५, २०८०

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन शुरु गरेको छ । अब विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो ।

अनलाइन सेवाको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान शुरु भएको बताउनुभयो । यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुमा रहेको कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

अनलाइन सेवा शुरु भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउने जस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् । विद्यार्थीले अनलाइनबाटै फाराम भरेर तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिन सक्नेछन् ।

चौबिसै घन्टा चल्ने प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाइ सच्याएर वा नपुग विवरण राखेर पुनःआवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ ।

तपाईंको प्रतिक्रिया