मेट्रो कलेजको भवन उद्घाटन

 जेठ ०६, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजको शैक्षिक भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् । कलेजको उद्घाटन गर्दै पोख्रेलले प्राविधिक शिक्षाको केन्द्रका रुपमा कलेजले आफुलाई स्थापित गर्दै लगेको बताए । प्राविधिक शिक्षाले श्रमप्रति सम्मान गर्न सिकाउने बताउँदै पोख्रेलले श्रमलाई व्यवस्थापन गर्न नसक्दा बेरोजगारी उत्पन्न भएको कुरामा जोड दिए । ‘युवाहरुलाई व्यावसायिकतातर्फ उन्मुख गराउनु अहिलेको आवश्यकता भएको हो ’ संस्थापक मुख्यमन्त्री पोख्रेलले बताए । उनले सीपले स्वरोजगारको बाटो तय गर्ने समेत उल्लेख गर्दै श्रम गर्नेहरुलाई सम्मान गर्ने संस्कारको विकास हुनु आवश्यक रहेको कुरामा जोड दिए ।

तुलसीपुर मेट्रो कलेज नयाँ सोच र संकल्पका साथमा अगाडी बढेको बताउँदै उत्पादित जनशक्तिको क्षमताका आधारमा कलेजको मापन हुने उनको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले नमुना कलेजका रुपमा विकास गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘प्राविधिक शिक्षाको समग्र विकासका लागि हामी प्रतिवद्ध छौ’ मन्त्री आचार्यले भने । कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य अनारकली मियाले स्थानीय विकासका लागि कलेजले भुमिका खेलेको कुरामा जोड दिइन् । लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरीले कलेजले तुलसीपुरको गौरबका रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले कलेजले प्राविधिक शिक्षाको विकासले स्थानीय विकासमा महत्वपूर्ण भुमिका बहन गर्ने कुरा बताए । उनले कलेज सञ्चालनका लागि प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा समेत गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबाबु सुवेदी, विद्यार्थी निराजन आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कलेज प्रमुख वसन्त आचार्यले गरेका थिए भने सञ्चालक समिति अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि राखेका थिए ।

 

 

तपाईंको प्रतिक्रिया