गोली लागेर युवकको मृत्यु भएको घटनामा दुई जना पक्राउ

दाङ । दाङको दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि ठाउका छविलाल डाँगी र पुष्प बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भरूवा बन्दुक प्रहारबाट कुसारीको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो ।
सुरुमा कुसारी रुखबाट लडेर घाइते भएको सूचना प्रहरीले प्राप्त गरेको थियो । अनुसन्धानका क्रममा कुसारीको घुँडा, तिघ्रा लगायतमा शरीरका विभिन्न भागमा चोट देखिएको थियो। कुसारीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल उपचारका लागि ल्याइएको थियो । उनको तुलसीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँके रेफर गरिएको थियो ।
सोही राति पुर्याएको केही बेरमै बाँकेमा चिकित्सकले प्रेमबहादुरलाई मृत घोषणा गरेका थिए । माघ ४ गते प्रेमबहादुरको शव ल्याइएको थियो । शव दाहसंस्कार गर्न प्रहरीले रोकेपछि पोष्टमार्टमका लागि बाके लगिएको थियो । आज बेलुका मात्रै शव घर ल्याइएको छ ।
चोरी शिकार गर्न गएका बखत प्रेमबहादुरलाई साथीहरुले हानेको बन्दुकको गोली लागेको हो वा रिसिवी साँध्न उनीहरुले योजनाबद्ध रुपमा प्रेमबहादुर माथि गोली प्रहार गरेका थिए भन्ने कुरा पत्ता लगाउन प्रहरी अनुसन्धानमा लागि परेको छ ।
तपाईंको प्रतिक्रिया