तुलसीपुर खानेपानीको अध्यक्षमा भण्डारी, सचिवमा भुषाल निर्वाचित

 चैत ०३, २०८१

दाङ ।  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा पुन : यमकान्त भण्डारी निर्वाचित हुनुभएको छ । सोमबार बिहान सकिएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका भण्डारीले २ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिष्पर्धि नेकपा माओवादी केन्द्रका सीताराम शर्माले २ हजार ३ सय ८१ मत प्राप्त गर्नुभएको छ । भण्डारी र शर्माबिचको मतान्तर ५८८ रहेको छ । यस्तै अध्यक्ष पदका उमेदवार नेकपा एमालेका मनोज लामिछानेले १ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।

खानेपानीको उपाध्यक्षमा नेपाली कांग्रेसकै नारायणप्रसाद शर्मा २ हजार ७ सय ६ मतका साथ निर्वाचित हुनुभएको छ । प्रतिष्पर्धि राष्ट्रिय प्रजातन्त्र पाटीका लक्ष्मण केसीलाई ८ सय ३ मतले पछि पारेर निर्वाचित हुनुभएको हो । राप्रपाका केसीले १ हजार ९ सय ३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्ष पदका उमेदवार राष्ट्रिय जनमोर्चाका दुर्गाप्रसाद भण्डारीले १ हजार ४२० मत प्राप्त गर्नुभएको छ । खानेपानीको सचिवमा भने नेकपा एमालेका भुवन भुषाल निर्वाचि हुनुभएको छ । उहाँले २ हजार ४५१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिष्पर्धि नेपाली कांग्रेसका रञ्जन कुमार गौतमलाई ३८ मतले पछि पार्नुभएको हो । गौतमले २ हजार ४१३ मत प्राप्त गर्नुभएको छ । सचिवका पदका अर्का उमेदवार नेकपा विप्लवका रुद्र बहादुर वलीले १ हजार ९७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कोषाध्यक्ष पदमा नेपाली कांग्रेसका भोलाप्रसाद थापा लोकप्रिय मतका साथ निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार २६८ मत ल्याउनुभएको छ । कोषाध्यक्ष पदमा निर्वाचित थापाले सबै उमेदवार भन्दा बढी मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका सुशीला न्यौपानेले १ हजार ४२३ मत ल्याउनुभएको छ ।

थापा र न्यौपानेबिचको मतान्तर १ हजार ८४५ रहेको छ । यस्तै कोषाध्यक्ष पदका उमेदवार नेकपा माओवादी केन्द्रका कर्ण बहादुर वलीले १ हजार २०६ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा सचिवबाहेक सबै पदमा नेपाली कांग्रेस विजयी भएकाे छ ।

यस्तै खुला सदस्य पदमा नेपाली कांग्रेसका प्रमोद कुमार योगि (शरद)ले २ हजार ५०७ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस्तै कांग्रेसकै बुद्धिराम चौधरीले २ हजार १२० मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा  लुमा बुढामगर २ हजार ३ सय ८५ मतका साथ निर्वाचित हुनुभएको छ । यसैगरी नेपाली कांग्रेसकै शुष्मा अधिकारी र शारदा सार्की पनि महिला सदस्यमा निर्वाचित हुनुभएको छ ।

अधिकारीले २ हजार ४५९ मत ल्याउनुभएको छ । शारदाले २ हजार १४८ मत ल्याउनुभएको छ । खानेपानीले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व पाएको हो । गत शुक्रबार भएको निर्वाचनमा १० हजार ९१९ मतदातामध्ये ७ हजार १९८ मत खसेको थियो । शुक्रबार रातीबाट शुरु भएको मतगणना सोमबार बिहान सकिएको निर्वाचन समितिका संयोजक प्रदिप कुमार धितालले बताउनुभयो ।

चुनावमा नेपाली कांग्रेस एकलरुपमा प्रतिष्पर्धामा रहेको थियो । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी संयुक्तरुपमा प्रतिष्पर्धामा थिए भने नेकपा माओवादी केन्द्र राष्ट्रिय जनमोर्चासहित सातदलको संयुक्त प्यानल प्रतिष्पर्धामा रहेको थियो ।

तपाईंको प्रतिक्रिया