आजदेखि नव वर्ष २०८२ प्रारम्भ
काठमाडौँ । आज विक्रम संवत् २०८२ को पहिलो दिन वैशाख १ गते देशभर शुभकामना साटासाट गर्दै उत्साहका साथ मनाइँदै छ। आज सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्ने दिन, वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति हो। यो वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत छ भनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् ।
आज हरेक व्यक्तिले गत वर्षका कामको सफलता र असफलता मूल्याङ्कन गर्छन्। असफलता दोहोरिन नदिने र सफलता हासिल गर्ने योजना बनाउँछन्। बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मन्दिरमा पूजा गर्ने, मीठो खाने, साथीभाइ र आफन्तसँग भेटेर शुभकामना साट्ने गरिन्छ। विश्वभरका नेपालीले वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउँछन्।
तपाईंको प्रतिक्रिया