बाध्यताले गाउँ छाड्नु परेको हायु परिवार भन्छन्
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएर पोखरामा भेटिएका हायु परिवारले बाध्यताले गाउँ छाड्नु परेको बताएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान तीन घण्टा लाग्ने भएर बच्चाहरुको लागि गाँउ छाडेको बताएका हुन् ।
उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो,केटाकेटीहरु धेरै बिरामी भए । केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो । ठूलो परिवार १८ जना छौं । विकट भयो हस्पिटल जान दुई अढाइ घण्टा, स्कुल जान तीन घण्टा लाग्छ । हामी त्यस्तो ऋण लागेर भागेर आएका हैनौं ।’ उनले सञ्चार माध्यममा आएको जस्तो राती नभई बिहान घरबाट हिंडेको र गाइ नपालेको पनि बताए ।
कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवार आफन्तको जिम्मा लगाइएको र सपरिवार आफूखुसी हिडेको जानकारी दिए । घटनामा आवश्यक परे थप अनुसन्धान गर्ने एसपी ओलियाले बताएका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाइसकेको छ ।



तपाईंको प्रतिक्रिया