तुलसीपुर महोत्सवमा आइतवार गायक प्रकाश दुतराज आउदै
दाङ । दाङको तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ को नवौँ दिन आज चर्चित गायक रमेशराज भट्टराईको धमाकेदार प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बन्यो ।
पुसको चिसो साँझमा पनि ’बहुला’ गायकको नामले परिचित भट्टराईका ऊर्जाशील गीतहरूले दर्शकलाई धुलो उडाउँदै नाच्न बाध्य बनायो ।महोत्सवको आठौँ दिन प्रकाश सपुतको क्रेज देखिएको तुलसीपुरमा नवौँ दिन आज पनि रमेशराज भट्टराईले स्टेज सम्हाल्ने बित्तिकै माहोल निकै उत्साहित देखिएको हो । आज पनि चर्चित कलाकारको प्रस्तुति भएकाले महोत्सवमा दर्शकको चाप अनपेक्षित रूपमा बढेको थियो । दर्शकको अत्याधिक उपस्थितिका कारण मेला परिसर खचाखच भरिएको थियो भने सुरक्षाकर्मीहरूलाई भिड व्यवस्थापन गर्न र शान्ति सुरक्षा कायम राख्न हम्मेहम्मे परेको थियो ।
महोत्सवमा आज चर्चित गायिका रेखा पोखरेल, राजेन्द्र चौधरी लगायतको प्रस्तुति रहेको थियो । आजको कार्यक्रमको संचालन एचआर मगरले गर्नुभएको हो ।
‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक वातावरणको सुधार–दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ ।
महोत्सवमा दिनप्रतिदिन दर्शकको सहभागीता उत्साहजक हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । दर्शकको उपस्थिति बढ्दै गएपछि स्थानीय वस्तुको बजारीकरण पनि राम्रो भएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो । पुस ४ गतेदेखि शुरु भएको महोत्सव १९ गतेसम्म संचालन हुनेछ ।
भोलि चर्चित गायक प्रकाश दुतराजको प्रस्तुति रहने
तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा भोलि दशौँ दिन पनि चर्चित गायक प्रकाश दुतराजको सांगितिक प्रस्तुति रहने साँस्कृतिक संयोजक टिकाजंग वलीले बताउनुभयो ।
‘घर कता हो बैनीको’ गितबाट चर्चामा आएका प्रकाशका थुप्रै गित निकै चर्चित छन् । यस्तै ‘रिमै’, बैनी झ्यालैमा, रेशम गित पनि पछिल्लो समय टिकटक र युट्युबमा निकै भाइरल भएको गित हो । साँस्कृतिक संयोजक वलीका अनुसार भोलि प्रकाश संगै कलावती केसी, थम्मन भण्डारी लगायतका कलाकारको प्रस्तुति रहनेछ । भोलिको कार्यक्रम संचालन सन्तोष केसीले गर्नुहुनेछ ।



तपाईंको प्रतिक्रिया