तुलसीपुर महोत्सवमा आज बद्रि पंगेनी, टिका सानु लगायतका कलाकार आउँदै
दाङ । दाङ दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज ११ औँ दिनमा चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा र गायिका प्रिति आलेको धमाकेदार प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको छ ।
पुसको कठ्याङ्ग्रिँदो चिसोका बाबजुद महोत्सव स्थलमा उपस्थित हजारौँ दर्शकहरू कलाकारद्वयको गीतमा झुमेर छमछमी नाचेका छन् । महोत्सवको ११ औँ दिनमा प्रमुख आकर्षणका रूपमा रहेका पुस्कल शर्माले आफ्ना लोकप्रिय वियोगान्त र कारुणिक गीतहरूबाट दर्शकलाई भावुक बनाउनुभएको थियो भने लगत्तै प्रिति आलेले आफ्नो ऊर्जावान् प्रस्तुति मार्फत माहोललाई तताउनुभएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि सञ्चालित यस महोत्सवमा दैनिकरुपमा दर्शकको उल्लेख्य सहभागीता हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । चिसोका कारण मानिसहरू घरबाहिर निस्कन हिचकिचाएका बेला कलाकारहरूको प्रस्तुतिले महोत्सवमा नयाँ ऊर्जा थपेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताउनुभयो ।
महोत्सवमा आज चर्चित गायक बद्री पंगेनी, टिका सानु, एमटी महर र हाँस्यव्यंग्य कलाकार कमल गाउँले आउने साँस्कृतिक संयोजक टिकाजंग वलीले बताउनुभयो । महोत्सवमा आगामी दिनहरूमा पनि अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।



तपाईंको प्रतिक्रिया