बिदाले जुराएको भ्रमण
बिहान घामको उज्यालो सँगै मेरो आँखा खुल्यो । म उठ्दा त घरपरिवार सबैजना उठिसक्नु भएको थियो । म आफ्नो हातमुख धोएर कोठातिर गएँ । कोठामा बुबाले भ्रमण जानेबारे आमासँग कुरा गर्दै हुनुहुन्थ्यो । म छक्क परेँ र सोचेँ, “हिजोसम्म घुम्न जाउँ भन्दा केही उत्तर नदिने मान्छे आज आफैँ कुरा निकाल्दै हुनुहुन्छ ।” जे होस् घुम्न जान पाइने भयो भनेर म खुसी भएँ । एकछिन पछि कहिले जाने त भनी सल्लाह गर्नका लागि ठूलोबुबा र ठूलीआमा हाम्रो घर आउनु भयो। कुराकानी हुँदै थियो, मैले पनि कान लगाएर सुनिरहेकी थिएँ । केही समय पछि “लौ आजै हिडौँ न त, मौसम पनि राम्रो छ” भन्ने कुरा भयो । म पनि खुसी भएँ । आमाले भन्नु भयो “अति भन्ने बित्तिकै गाडी कहाँ भेटिन्छ?” तर गाडी पनि एकैछिनमा भेटिहालियो ।
जे होस् त्यस दिन हाम्रो भाग्य राम्रो रहेछ । त्यसपछि हामी खाना खाएर कपडा मिलाउन तिर लाग्यौँ । कपडा मिलाउँदा के के गर्दा १ बजिसकेछ । बुबा आएर भन्न थाल्नु भयो “लौ अब चाँहि गाडी आइहाल्छ।” त्यसपछि हामी छिटोछिटो तयार हुन थाल्यौँ । एकछिन पछि गाडी पनि हाम्रो घर बाहिर आएर रोकियो । गाडीमा आफ्नो सामान राखेर हजुरबुबा र हजुरआमाको आशीर्वाद लिएर हामी ठूलोबुबाको घरतिर लाग्यौँ । ठूलोबुबा, ठूलीआमा र दादा घरबाहिर अघिदेखि नै बसिरहनु भएको रहेछ । त्यहाँबाट सबैजना गाडीमा चढ्यौँ र माइजुलाई लिन बजारतिर गयौँ। हामी करिब ८ जना भएर भ्रमणका लागि तुलसीपुरबाट हिड्यौँ । बाटोमा जाँदै गर्दा एकछिन जाममा पनि पर्यौँ। धेरै लामो समयको जाम थिएन । जामबाट निस्किएपछि हामीलाई भोक लाग्न थाल्यो । बाटोमा पोलेको मकै बेच्दै रहेछन् ।
हामीले त्यो किनेर खायौँ र बाटोमा कतै नरुकी हिड्यौँ। रातिको ११ बजे तिर हामी पाल्पा पुग्यौँ । त्यस रात हामी पाल्पामै रुक्यौँ । बिहान सबेरै उठेर हामी काल भैरव मन्दिरको दर्शन गर्न पुग्यौँ । हामी त्यस मन्दिर जाने उद्देश्य बनाएर गएका थिएनौँ तर हामीलाई सायद भैरव भगवानले आवाज दिएर बोलाउनु भयो । त्यस मन्दिरमा काल भैरवलाई रोट चढाउने परम्परा रहेछ । हामीले तिनवटा रोट लगेर भगवानलाई चढायौँ । भैरव मन्दिरको दर्शन गरिसके पछि हामी त्यहाँबाट पोखराको लागि हिड्यौँ । जाँदै गर्दा बाटोमा हामीलाई निकै भोक लाग्न थाल्यो र बाटोमा रुकिएर हामीले खाना खायौँ ।
खाना खाएको एकछिन पछि हामी त्यहाँबाट हिड्यौँ । बाटोमा कतै नरुकेर हामी गाडीमै रमाइलो गर्दै दिउँसो ४ बजे तिर पोखरा पुग्यौँ । पोखरामा हामीले होटेल पहिले नै बुक गरिसकेका थियौँ । त्यही होटेलमा बसेर एकछिन आराम गर्यौँ र फेवा तालमा डुङ्गा चढ्न गयौँ । त्यस दिन हामी ठुलो डुङ्गा चढ्यौँ । अर्को दिन हामी फेवा तालको बीचमा रहेको मन्दिरको दर्शन गर्न सानो डुङ्गा चढेर गयौँ । डुङ्गा चढेको बेला मेरो मनमा अनेकौँ ख्यालहरू आए: “कतै हामी डुब्ने त होइनौँ?” “कतै यो डुङ्गा खस्ने त होइन?” ताल निकै ठुलो रहेछ । पोखरा बजारमा पसल खोज्न भने निकै गाह्रो हुने रहेछ । पसलहरू पनि निकै छिटो बन्द हुने । जे होस् एउटा लुगा भए नि किन्न पाइयो ।
अर्को दिन फेवा ताल बीचमा रहेको मन्दिरको दर्शन गरेर हामी बिन्ध्यावासिनी मन्दिरको दर्शन लिनको लागि हिड्यौँ । केही समयमा हामी त्यहाँ पनि पुग्यौँ ।
मन्दिर निकै राम्रो थियो। त्यहाँ एक बेहुला बेहुलीलाई पनि देख्न पाइयो । केही समय त्यहाँ फोटो भिडियो बनाएर हामी त्यहाँबाट निस्कियौँ । अब कहाँ जाने त भन्दा सबैले महेन्द्र गुफा भनेपछि हामी महेन्द्र गुफा तिर लाग्यौँ । गुफा बाहिरबाट सानो देखिए पनि भित्र भने निकै ठुलो थियो र भित्र एकदम चिसो पनि थियो । गुफा बाहिर विभिन्न जातजातिका पोसाकहरू पनि राखिएको थियो । हामी आमाछोरी, ठूलीआमा र माइजूले गुरुङ पोसाक लगाएर फोटो भिडियो बनायौँ। केही समय त्यहाँ रमाइलो गरेपछि हामी बागलुङको लागि हिड्यौँ । हामी रातिको ठीक ९ बजेतिर बागलुङ पुग्यौँ। हामी त्यस रात कालिका भगवती मन्दिर नजिकै रहेको होटेलमा बास बस्यौँ । एकछिन आराम गरेर हामीले खाना खायौँ । खाना खाएर थकाइ लागेको कारण हामी सुतिहाल्यौँ। बिहान सबेरै उठेर हामी कालिका भगवती मन्दिरको दर्शन गर्न तिर लाग्यौँ ।
मन्दिर जानको लागि एकछिन हिड्नु पर्ने रहेछ । मन्दिरमा रोट चढाउने परम्परा पनि रहेछ । हामीले पनि रोट बनाएर मन्दिरमा चढायौँ। मन्दिरको प्रवेश गेट नजिकै थुप्रै पूजा सामग्रीका पसल थिए । ती पूजा सामग्रीहरू प्लास्टिकको बट्टामा राखिएको थिएन, सबै सामग्रीहरू आफैँ हातले गराएको बाँस जस्तै टपरीमा थियो । पूजा सामग्री र रोट लगेर हामी मन्दिर भित्र प्रवेश गर्यौँ । मन्दिरमा बिहानै देखि भजन सुरु हुँदो रहेछ । हामी पूजा गरेर एकछिन फोटो भिडियो बनाउन तिर लाग्यौँ । फोटो भिडियो बनाएर एकछिन भजनमा पनि नाच्दै रमाइलो गर्यौँ ।
त्यसपछि हामी फेरि पोखराको लागि त्यहाँबाट हिड्यौँ । बाटोमा रुकिएर खाना खाएर हामी कतै नरुकी पोखरा गयौँ । पोखरामा स्थित पुम्दीकोट मन्दिरको दर्शन गर्ने उद्देश्यले हामी त्यहाँ पुग्यौँ ।
यो पोखराबाट पुम्दीकोट मन्दिर जानको लागि गाडी उकालोमा लग्नु पर्ने रहेछ । गाडी माथि जाँदै थियो तर एक्कासि चल्न बन्द भयो। हामी आत्तिन थाल्यौँ । “यस्तो उकालोमा गाडी बन्द भयो अब के गर्ने” भनी सोच्न थाल्यौँ । एकछिन त त्यो उकालो पनि चढ्यौँ, एकैछिन त्यो उकालो चढ्न पनि निकै गाह्रो भयो । माथि ट्याक्सी उभिएको देख्यौँ । त्यो ट्याक्सी बुक गरेर हामी माथि मन्दिर पुग्यौँ ।
बुबा र ठूलोबुबा भने तल गाडीको गुरु (चालक) सँग बसेर गाडी बनाउँदै हुनुहुन्थ्यो । केहीबेर हामी दर्शन गरेर फोटो भिडियो बनाउँदै थियौँ कि तलबाट बुबाको फोन आयो । बुबाले फोनमा भन्दै हुनुहुन्थ्यो, “लौ गाडी बन्यो है, हामी गाडी लिएर माथि आउँदैछौँ ।” त्यो सुनेर हामी खुसी भयौँ। बुबाहरू माथि मन्दिर आउनुभयो, दर्शन गर्नुभयो र सबैले सँगै फोटो भिडियो पनि बनायौँ र नजिकैको पसलमा गएर उखुको सर्वत पनि खायौँ ।
त्यसपछि हामी त्यहाँबाट चितवनको लागि हिड्यौँ। बाटो एकदम राम्रो भएकाले होला हामी छिट्टै पुग्यौँ । चितवनमा होटेल खोज्न हल्का समय लाग्यो तर होटेल पनि भेटिहाल्यौँ । केही समय आराम गरेर हामी चितवनको सौराहा बजार हेर्न निस्कियौँ । चितवनको सौराहा हात्तीचोक नजिकै रहेको होटल रेस्टुरेन्टमा गएर खाना वा नास्ता खायौँ। घुम्ने मौकामा मिठोमिठो खानेकुरा पनि खान पाइरहेका थियौँ । जे होस् खाना खाएर हामी सबै होटल फर्कियौँ । कोठामा सबै कुरा गर्दागर्दै सुतिसकेछन् । मलाई भने १२ बजेसम्म पनि निद्रा लागेको थिएन । खोइ नयाँ ठाउँ भएर हो कि! किन कसो तसो बत्ती निभाएर म सुतिहालेछु । बिहान म उठ्दा आमाहरू तयार भइसक्नु भएको रहेछ । म पनि छिटोछिटो उठेर तयार हुन तिर लागेँ । केही समय पछि दादा र भाइहरू पनि उठेर तयार हुन लागे ।
हामी ७ बजेतिर जङ्गल सफारीको लागि गाडीमा चढेर निस्कियौँ । त्यहाँ मैले विभिन्न जनावरहरू देख्न पाएँ, जस्तै: गैँडा, चित्तल, मयुर, गोही, बाँदर आदि। जङ्गल सफारीमा निकै राम्रो र आनन्द लाग्यो। २ घण्टाको सफारी पछि हामी होटल फर्केर आफ्नो गाडी लिएर चितवनको सौराहाको प्रसिद्ध हात्ती हेर्न लाग्यौँ । त्यस हात्तीको नाम चाहिँ पुतली रहेछ, त्यो एकदम चञ्चल र फराकिलो रहेछ । हात्तीको आशीर्वाद लिएर हामी होटलमा खाना खान गयौँ र खाना खाएर हामी घर आउनका लागि त्यहाँबाट बिदा मागेर हिड्यौँ ।
बाटोमा कुरा गर्दै गर्दा लुम्बिनी पनि जाउँ न त भन्ने कुरा निस्कियो । सबैको सहमतिमा हामी लुम्बिनी (गौतम बुद्धको जन्म स्थल) पुग्यौँ । त्यहाँ विभिन्न देशहरूबाट पर्यटकहरू पनि आएका थिए । त्यहाँ विभिन्न देशहरूले मन्दिर पनि बनाएका थिए । पर्यटकले हामी हिड्दै गर्दा हामीलाई आवाज दिए, हामीले पछि फर्केर हेर्यौँ । उनीहरूले हामीलाई उत्साहित हुँदै प्रश्न सोध्न थाले, हामी पनि उत्तर दिँदै गयौँ। केही समयको कुराकानी पछि उनीहरूले हामीसँग फोटो खिच्ने अनुमति मागे र हामीले पनि हाँसी हाँसी “हुन्छ” भन्यौँ ।
केही समय लुम्बिनीको अवलोकन गरेर हामी त्यहाँबाट घर आउनको लागि हिड्यौँ । त्यसपछि हामी धानखोला रुकिएर खाना खायौँ र रातिको ठिक १२ बजे हामी घर आइपुग्यौँ । घरमा सबै सुतिसक्नु भएको थियो । मलाई यो बिदाले गर्दा जुरेको भ्रमण एकदम राम्रो लाग्यो । मैले यस भ्रमणमा नयाँ नयाँ कुराहरू जान्न र देख्न पाउँदा एकदम हर्षित छु । मैले विभिन्न ठाउँहरूमा गरिएका विकासहरू पनि देखेँ, म आशा गर्छु कि हाम्रो यस तुलसीपुर बजारमा पनि त्यस्तै हुनेछ ।
धन्यवाद !!
रेसु रावत, कक्षा ८ मावि तुलसीपुर सेण्टर दाङ



तपाईंको प्रतिक्रिया