‘हाम्रो गाउँ विकास हेर्न जाऔँ’ अभियानबाट विकासको समीक्षा

 ७ घण्टा अगाडि

तुलसीपुर । विकास निर्माणका योजनालाई कागजमा मात्र सीमित नराखी जनतामाझ प्रत्यक्ष पुर्‍याउने उद्देश्यका साथ तुलसीपुर उपमहानगरपालिका–११ ले ‘हाम्रो गाउँ विकास हेर्न जाऔँ’ अभियान थालेको छ। वडामा सम्पन्न भएका पूर्वाधार योजनाको स्थलगत अवलोकन तथा नागरिकलाई विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्यसहित आज बिहान शितलपुरको तुर्की चोकदेखि क्वाङखोलासम्मको कालोपत्रे सडकमा हिँडाइ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख टिकाराम खड्का, पूर्व राष्ट्रियसभा सदस्य कोमल ओली, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। उरहरी चोक, तुर्की चोक, नमुना टोल, क्वाङखोला, पिपलेडाँडा क्षेत्रमा पुगेर उरहरी मोतीपुर सुकौरा सडकमा कालोपत्रे,नाला तथा आरसिसि लागायतका आयोजनाको अवलोकन गर्दै सहभागीहरूले स्थानीय पूर्वाधारको अवस्था नजिकबाट हेरेका थिए। विभिन्न स्थानमा स्थानीयवासीले सहभागीहरूको स्वागतसमेत गरेका थिए।

कार्यक्रममा बोल्दै नगरप्रमुख टिकाराम खड्काले वडा नं। ११ ले विकास निर्माणमा अपनाएको कार्यशैली अन्य वडाका लागि प्रेरणादायी रहेको बताउनुभयो। विकासका लागि स्पष्ट योजना, दृढ इच्छाशक्ति र सबै पक्षबीचको समन्वय आवश्यक हुने उल्लेख गर्दै वडा अध्यक्ष मानबहादुर रावतले ती पक्षलाई सफलतापूर्वक कार्यान्वयन गरेको उहाँको भनाइ थियो। पूर्व राष्ट्रियसभा सदस्य कोमल ओलीले वडा नं। ११ ले विकासलाई जनतासँग जोड्ने नयाँ अभ्यास सुरु गरेको बताउँदै यसलाई अन्य स्थानीय तहले पनि अनुकरण गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने उदाहरण वडा नं. ११ ले प्रस्तुत गरेको उल्लेख गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति किरण बस्नेत, नेकपा ९एमाले०का होताराम बस्नेत, नेपाल कम्युनिस्ट पार्टीका गजाधर चौधरी तथा सुकुम्बासी समस्या समाधान आयोग दाङका पूर्व अध्यक्ष रुकुम बस्नेतले विकास कुनै एक दल वा व्यक्तिको नभई सम्पूर्ण समुदायको साझा अभियान भएकाले राजनीतिक मतभेदभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।

वडा अध्यक्ष मानबहादुर रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य यज्ञबहादुर बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन वडा सचिव पदमकुमार भण्डारीले गर्नुभएको थियो। वडाले आगामी दिनमा पनि यस्ता विकास अवलोकन कार्यक्रमलाई निरन्तरता दिँदै नागरिक सहभागितामार्फत विकासलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

तपाईंको प्रतिक्रिया