तुलसीपुर मेट्रो कलेजमा लैङ्गिक हिंसाविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन

 १ घण्टा अगाडि

तुलसीपुर। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत तुलसीपुर मेट्रो कलेजमा  विविध सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ। लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, कानुनी सचेतना फैलाउने तथा विद्यार्थीलाई अभियानमा सक्रिय सहभागी गराउने उद्देश्यले कलेजले मंसिर १० देखि २४ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो। अभियानको शुभारम्भ कार्यक्रममा विद्यार्थीहरू रचना कार्की र सिताष्मा शाहले लैंगिक हिंसाका विभिन्न स्वरूप, यसको सामाजिक प्रभाव तथा हिंसा न्यूनीकरणका उपायका बारेमा जानकारी गराएका थिए।

उनीहरूले लैङ्गिक हिंसा व्यक्तिगत समस्या मात्र नभई सामाजिक चुनौतीसमेत भएकाले यसको अन्त्यका लागि सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए। कार्यक्रममा कलेज प्रमुख वसन्त आचार्यले लैंगिक हिंसामुक्त समाज निर्माणका लागि शिक्षा, चेतना र व्यवहारमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई लैङ्गिक समानता, पारस्परिक सम्मान र हिंसाविरुद्धको अभियानमा सचेत तथा जिम्मेवार नागरिकका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षिका सुष्मा केसीले गरेकी थिइन् भने अभियानका क्रममा सञ्चालन गरिने कार्यक्रमबारे कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी गराएका थिए।

१६ दिनसम्म सञ्चालन हुने अभियानमा कानुनी साक्षरता कार्यक्रम, रेडियो संवाद, सडक नाटक, हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला, भिडियो प्रतियोगिता तथा न्यायिक समितिसँग छलफललगायतका कार्यक्रम समावेश गरिएका छन्। विभिन्न सिर्जनात्मक तथा सहभागितामूलक गतिविधिमार्फत विद्यार्थीहरूमा लैंगिक हिंसाविरुद्धको चेतना अभिवृद्धि गर्ने र हिंसामुक्त समाज निर्माणमा युवाको भूमिका प्रभावकारी बनाउने कलेजको अपेक्षा छ।

तपाईंको प्रतिक्रिया