रक्तदानमार्फत सामाजिक सेवामा युवा संघको सक्रियता

 १४ घण्टा अगाडि

दाङ । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नवलपरासीको व्यवस्थापनमा भएको   कार्यक्रममा ४९ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

प्रदेश कमिटीका अध्यक्ष सन्तोष ओलीको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीका सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज कपुर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज सरिता भुषालको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा एमालेका प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, राष्ट्रिय युवा संघ नेपालका प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदानलाई जीवन बचाउने महान् कार्यका रूपमा लिँदै उत्साहपूर्वक रक्तदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदानले बिरामी, दुर्घटनामा परेका तथा शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्वस्थ व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवाहरू सामाजिक उत्तरदायित्वका यस्ता अभियानमा अझ सक्रिय हुनुपर्ने धारणा पनि व्यक्त गरेका थिए।

कार्यक्रमका अध्यक्ष सन्तोष ओलीले राष्ट्रिय युवा संघ नेपालले राजनीतिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि रक्तदान, वृक्षारोपण, सरसफाइ तथा अन्य जनहितका कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

तपाईंको प्रतिक्रिया