भुस्याह कुकुरको बिगबिगी बढ्यो, तुलसीपुरले उपचारदेखि खोपसम्मको व्यवस्था गर्दै

 भदौ २५, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उपचार सेवादेखि इमोग्लोविन खोप निशुल्क उपलब्ध गराउने भएको छ । बजार क्षेत्रमा भुस्याह कुकुरको टोकाईबाट एक दर्जन सर्वसाधारण र पशुचौपाया घाइते भएपछि आज बसेको आकस्मिक बैठकले उपचारमा सहजता ल्याउन उपचारदेखि खोपसम्मको व्यवस्था निशुल्क रुपमा गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपाालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल २० डोज इमोग्लोविन खोप खरिद गर्ने, अस्पतालसम्म जानका लागि यातायातको व्यवस्था गर्ने, बौलाहा कुकुर, छाडा पशुचौपायको व्यवस्थापन गर्ने, घरमा पालेका कुकुरहरुलाई छाडा नछोड्न नगरबासीलाई अपील गर्ने र सजगता अपनाउन गाउँगाउँमा माइकीङ गर्ने निर्णय गरेको छ । निशुल्क उपचार सेवाका लागि सम्बन्धित वडा, पशु शाखा कार्यालय वा नगरपालिकामा सम्पर्क गर्नुपर्ने छ । शुक्रबार भारतको रुपैडिहाबाट ५८ हजारमा ६ वटा इमोग्लोविन खोप मगाएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिनुभयो । इमोग्लोविन खोप जटिल प्रकृतिका घाइतेलाई दिने गरिन्छ भने रेबिज सुई सामान्य प्रकृतिकालाई दिने गरिन्छ । टाउको, अनुहार, घाँटी वा टाउकाको नजिकमा टोकेमा यो खोप दिने गरिन्छ । रेबिज सुई भने राप्ती प्रादेशिक अस्पतालमा प्रयाप्त मात्रामा रहेको छ ।

बैठकमा तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, वातावरण शाखा प्रमुख काजु शर्मा, तुलसीपुर उपमहानगरपालिका–२ का वडाध्यक्ष राजु आचार्य, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल, पशु चिकित्सक डा. मनोज वली, ईलाका प्रशासन कार्यालय तुलसीपुरका जोखिम वली, सूचना अधिकारी बाबुराम न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।


बिहीबार तुलसीपुर उपमहागनरपालिका–२ र ८ नम्बर वडामा १३ जनालाई कुकुरले टोकेको थियो ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ । कुकुरले बढी टोकेका कारण र टाँका लगाउन नमिल्ने भएकालाई रेबिज सुईले मात्र काम नगर्ने भएकाले इमोग्लोविन भ्याक्सीन लगाउन काठमान्डौ रिफर गरिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख डा. विनोद सिंहले बताउनुभयो ।।

तपाईंको प्रतिक्रिया